बामदेवलाई हराउन ओलीका ‘खास मान्छे’ जिम्मेवार


केपी ओली गुटकै खास–खास भनिएका श्याम ढकाल, दामोदार अर्याल , खड्गबहादुर खड्का, सूर्य थापाहरुले बर्दियामा वामदेव हराउन मुख्य भूमिका खेलेको भनी एमाले अध्यक्ष केपी ओलीसहित मुख्य नेता कहाँ जिल्लाको पार्टी कमिटीबाट रिर्पोटिङ भएको छ ।
बालकोट स्रोतका अनुसार आजभोलिमै उनीहरूलाई कारबाही गर्ने तयारी छ । त्यसका लागि संकलन गर्नुपर्ने प्रमाण अध्यक्ष ओलीको हातमा पुगिसकेको बताइन्छ । कारबाहीमा पर्ने भनिएका यीमध्ये श्याम ढकाल अघिल्लो निर्वाचनमा वामदेवले प्यूठान र बर्दियामा जितेपछि बर्दिया छाडेर ढकाल उठाइएका थिए ।
उनलाई जिताउन आफू गृहमन्त्री भएका बेला सक्ने जति सबै स्रोत साधान वामदेवले नै परिचालन गरिदिएका थिए । खड्गबहादुरलाई यसैपालि प्रदेशसभामा उठाउनुपर्छ भनेर वामदेवले नै जोड गरेका थिए । तर, स्थानीय थारु कार्यकर्ताले बालकोटदेखि भैंसेपाटीसम्म घेरा हालेर विद्रोह नै गर्ने भनेपछि कविराज थारु उठाइए ।
खड्गबहादुर वामदेवकै बागी उम्मेदवार बने । उम्मेदवारी फिर्ताका लागि विभिन्न किसिमका दबाबले पनि काम गर्न नसकेपछि उनले मागेजति पैसा दिएर फिर्ता भए । तर, वामदेव हराउने मेलोमा निरन्तर लागिरहे । दामोदर अर्याल भक्तपुरबाट चुनाव जितेका महेश बस्नेतका खास मान्छे हुन् ।
वामदेव हराउन महेशको कुनै भूमिका छैन । तर, महेशको मान्छे बनेर जिल्लामा एमालेको भोट कांग्रेसलाई दिलाउने काममा दामोदरको सक्रियता भने अचम्मको थियो । सूर्य थापा महासचिव ईश्वर पोखरेलको निर्वाचन परिचालन कमिटीको अध्यक्ष बनेर काठमाडौंमै थिए ।
बर्दियास्थित पार्टीका निकटस्थललाई फोन गरेर वामदेव हराउने काममा प्रेरित गरेका अनगिन्ती सूचना संकलित भएको ओली कहाँ उजुरी पुगेको छ । उनी आफ्नो जिल्ला प्युठान नगई नगईकन यस्ता काममा तल्लिन भएको बताइन्छ ।
यीबाहेक थप एक दर्जन नाम ओलीकहाँ पुगिसकेको छ । एमालेको सम्पर्क मञ्चका केही मान्छे कांग्रेससँग गाडीभाडा लिएर, रिजर्भ गाडीमा कांग्रेसकै मतदाता लगेकोदेखि एमालेलाई भोट हाल्न जिल्ला पुगेका मतदातालाई कांग्रेसलाई भोट हाल्न प्रेरित गर्नेसम्मका धन्दा चल्यो ।
एमालेभित्रको यो भद्रगोलस्थितिबारे जिल्ला पार्टीले चुनावी सभामा पुगेका बेला अध्यक्ष केपी ओलीलाई अवगत गराएको थियो । आशंका गरिएका मान्छेहरुलाई ओलीले त्यस्तो काम नगर्न चेतावनी पनि दिएका हुन् ।
आफ्नै पार्टी्भित्रको भद्रगोलले दिमाग खाने स्थिति बनेपछि माओवादीका मान्छेबारे त्यति धेरै खोजीनीति चलेन । जिल्लास्तरका नेतासम्म वामदेवको प्रचारमा हिँडेका थिए । तर, गाउँ तहका कार्यकर्ता भने एमालेहरुकै सक्रियतामा कांग्रेसबाट किनिए ।
स्थानीय निर्वाचनमा माओवादीले जितेका ठाउँबाट एमालेलाई ज्यादै कम मत आएबाट पनि यस्तो बुझ्न सकिन्छ । त्यसो त वामदेवलाई सबभन्दा धेरै धोका दिएको उनकै पुरानो निर्वाचन क्षेत्र अन्तर्गतको बाँसगढीबाट हो ।
२०७० को निर्वाचनमा वामदेवले १ नं. क्षेत्रबाट १६ हजार र अहिले जितेको सञ्जयले २ नं. क्षेत्रबाट १३ हजार भोट पाएका थिए । त्यसबेला क्षेत्र फरक थियो । दुवैले जिते । अहिले पहिलाको १ र २ एउटै क्षेत्रमा परेका छन् । स्थानीय तहको निर्वाचनमा त्यस क्षेत्रमा एमाले एक्लैको २९ हजार भोट थियो भने कांग्रेसको २४ हजार मात्र, जनआस्थामा उल्लेख छ ।
त्यसमाथि वाम गठबन्धनले गुलरियामा कांग्रेसको संगठन तोडेर ३–४ हजार भोट घटाएको थियो । मतगणनामा देखियो, वामदेवलाई हराउन पाँच हजारभन्दा धेरै मतपत्रमा सूर्य र हसियाँ–तारा (माले) मा भोट गएर मतपत्र बदर भएका छन् ।

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment