विश्वकै दोस्रो महंगो खेलाडीका रुपमा डेम्बेले बार्सिलोनामा, नेमारको जर्सी लगाउने

बार्सिलोनाले बोरुसिया डर्टमन्डबाट फ्रान्सेली फरवार्ड ओसुमाने डेम्बेलेसँग ५ वर्षको अनुबन्ध सम्झौता गरेको छ। जम्मा १ सय ३५ मिलियन पाउण्डमा सम्झौता गरेको बार्सिलोनाले तत्काल ९६.८ मिलियन पाउण्ड तिर्ने र बाँकी रकम पछि थप्ने जनाएको छ।
बार्सिलोनाले ट्वीटरमार्फत् डेम्बेलेलाई बार्सिलोनाको जर्सीमा प्रस्तुत गर्दै उनी बार्सिलोना भित्रिएको जनाएको हो। बार्सिलोनाद्वारा जारी विज्ञप्तिमा डेम्बेले युरोपकै उत्कृष्ट युवा खेलाडी भएको उल्लेख गरिएको छ।
बार्सिलोनाले डेम्बेलेलाई नेमारको रिक्त स्थानमा टोलीका भित्र्याएको हो। अगष्टको सुरुवातमा बार्सिलोनाको अग्रपङ्क्ति सम्हाल्दै आएका नेमार पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग अनुबन्धित भएका थिए। डेम्बेलेले बार्सिलोनामा खाली रहेको नेमारको ११ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ।
बार्सिलोनाले डेम्बेलेलाई विश्वका दोस्रो महंगो खेलाडीका रुपमा टिममा भित्र्याएको हो। यसअघि पीएसजीले बार्सिलोनालाई १ सय ९८ मिलियन पाउण्डमा अनुबन्ध गर्दै विश्वकै सवैभन्दा महंगो खेलाडी बनाएको थियो।
बार्सिलोनाले डेम्बेलेको रिलिज क्लब ३ सय ३८ मिलियन पाउण्ड राखेको छ। जसको अर्थ अब आगामी दिनमा कसैले डेम्बेलेलाई लिन चाहेमा कम्तीमा सो बराबरको रकम तिर्नुपर्नेछ।
गत अगष्ट ५ यता डर्टमुन्डले डेम्बेलेलाई मैदानमा उतारेको थिएन। अगष्टको सुरुवातमा बार्सिलोनाले उनका लागि राखेको पहिलो प्रस्ताव डर्टमुन्डले अस्वीकार गरेको थियो।
बार्सिलोना जाने चर्चाका बीच डेम्बेलेले अनुमतिबिना प्रशिक्षणमा नआएपछि उनलाई क्लबले प्रतिबन्ध लगाएको थियो।
सोमबार डेम्बेलेको स्पेनमा स्वास्थ्य परीक्षण हुने र सोही दिन डेम्बेलेलाई औपचारिक रुपमा स्वागत गर्ने बार्सिलोनाले तयारी गरेको छ।
जर्मनीको व्यवसायिक फुटबल प्रतियोगिता बुन्डेसलिगामा डर्टमुण्डलाई तेस्रो स्थानसम्म पुर्‍याउन र जर्मन कपको विजेता बनाउन गत सिजनमा डेम्बेलेले १० गोल गर्नुका साथै २१ गोलमा सहायकको भूमिका निभाएका थिए।
१९९७ मा जन्मिएका डेम्बेले २० वर्षको उमेरमा बार्सिलोना प्रवेश गरेका हुन्। फ्रान्सेली क्लब रेनेसबाट उनले औपचारिक रुपमा खेल जीवन सुरु गरेका थिए।
२०१५–१६ को लिग वानको सिजनमा युवा खेलाडीका रुपमा प्लेयर अफ द इअरमा मनोनित भएपछि डेम्बेलेसँग डर्टमुन्डले मे २०१६ मा पाँच वर्षे सम्झौता गरेको थियो। लिग वानमा उनले १२ गोल गर्नुका साथै पाँच गोलमा सहायकको भूमिका निभाएका थिए।
फ्रान्सेली राष्ट्रिय टोलीबाट डेम्बेलेले सन् २०१६ डेब्यु गरेयता एक गोल गरेका छन् भने सातवटा क्याप जितिसकेका छन्। गत जुनमा भएको इंग्लाण्ड विरुद्धको खेलमा उनले गोल गरेका थिए।
डेम्बेले रेन्नेसबाट मे २०१६ मा मात्र १३.८ मिलियन पाउण्डमा डर्टमुन्ड आएका थिए। एकै वर्षमा उनको मूल्यमा यो वृद्धि फुटबल विश्वमा अस्वभाविक ठानिएको छ। तर आफ्नो मूल्य र बार्सिलोनाले देखाएको विश्वासप्रति न्याय गर्ने क्षमता भएका खेलाडी हुन् डेम्बेले।
त्यसैले उनका लागि अबको मुख्य चुनौती भनेको बार्सिलोनाको खेल शैलीलाई ग्रहण गर्नु नै हुनेछ। किनभने अन्य क्लबमा राम्रो प्रदर्शन गरेर आएका खेलाडी पनि बार्सिलोनामा प्रभावकारी बन्न असफल बनेका उदाहरण प्रशस्त छन्। अझ अनुशासन र टिम सहकार्यको मामिलामा डेम्बेलेको रेकर्ड राम्रो छैन। उनी सुरुवातमा एक्लै खेल्न खोज्ने खेलाडीका रुपमा आलोचित बनेका थिए। त्यसमाथि बार्सिलोना त अझ निस्वार्थ खेलका लागि प्रसिद्ध छ।
यस्तोमा क्लबको अनुशासन र टिम सहकार्यमा अनुकूलित हुनु डेम्बेलेका लागि पक्कै पनि सजिलो छैन।
त्यसैले डेम्बेलेको सफलता प्रशिक्षक भेल्भेर्डे तथा मेसीजस्ता अनुभवी र टोलीका प्रभावशाली खेलाडीको सहयोग र सल्लाहमा पनि उत्तिकै निर्भर रहनेछ।
उनीसँगै बार्सिलोनाले लिभिरपुलका मिडफिल्डर फिलिप्पे काउटिन्होका लागि पनि चौथो प्रस्ताव गरेको छ। नेमार गएपछि बार्सिलोनाको पहिलो रोजाइमा परेका काउटिन्होका लागि बार्सिलोनाले १ सय ३८ मिलियन पाउण्डको चौथो प्रस्ताव राखेको हो।
बार्सिलोना जाने चर्चा चुलिएका बेला ढाडमा इञ्जुरी भएको जनाउँदै काउटिन्हो पछिल्लो खेलहरुमा लिभरपुलको टोलीमा देखिएका छैनन्। काउटिन्हो बार्सिलोना जान आतुर भएपनि क्लबले उनी बेच्नको लागि उपलब्ध नभएको बताउँदै आएको छ।
काउटिन्होबारे बोल्दै लिभरपुरका प्रशिक्षक जर्गेन क्लपले हाल उनी लिभरपुलको घाइतेहरुको सूचीमा रहेको तथा छिट्टै टिममा फर्कने बताएका छन्।
यस्ता छन् हालसम्मका पाँच महंगा सरुवाहरु
२०१७– नेमार (१९८ मिलियन पाउण्ड, बार्सिलोना देखि पेरिस सेन्ट जर्मेन)
२०१७– ओसेमाने डेम्बेले (१३५.५ मिलियन पाउण्ड, डर्टमुन्ड देखि बार्सिलोना)
२०१६– पाउल पोग्बा (८९ मिलियन पाउण्ड, युभेन्ट्स देखि म्यानचेस्टर युनाइटेड)
२०१३– गेरार्थ बेल (८५ मिलियन पाउण्ड, टोटेनह्याम देखि रियल मिड्रिड)
२००९– क्रिस्टियानो रोनाल्डो (८० मिलियन पाउण्ड, म्यानचेस्टर युनाइटेड देखि रियल मड्रिड)


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment