चीनको स्यामनमा होला त सी–मोदी भेट?


स्यामनमा नवौं ब्रिक्स शिखर सम्मेलनको तयारी पूरा हुँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्छन् कि गर्दैनन् भन्ने चासो बढेको छ।
प्रमुख विकासोन्मुख राष्ट्रहरूको संगठन ब्रिक्सको भारत एक मुख्य सदस्य हो। हरेक वर्ष आयोजना हुने ब्रिक्स शीखर सम्मेलनमा सदस्य राष्ट्रका कार्यकारी प्रमुख सहभागी हुने चलन छ।
दोक्लमको विषयलाई लिएर चीन र भारतबीच बढ्दो तनावकाबीच ब्रिक्स सदस्य राष्ट्रका प्रमुखसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनमा स्वागत गर्ने तयारी भइरहेको छ।

मोदीले अप्रत्यासित निर्णय लिएनन् भने दोक्लम विवादपछि पहिलोपटक चीनका राष्ट्रपतिसँग मोदीको भेट हुनेछ, स्यामनमा।
पाँच प्रमुख विकासोन्मुख राष्ट्रहरूको नवौं ब्रिक्स (ब्राजिल, रसिया, इण्डिया, चीन, दक्षिण अफ्रिका) शिखर सम्मेलन चीनको फुच्येन प्रान्तको राजधानी स्यामनमा सेप्टेम्बर ३–५ अर्थात् भदौ १८–२० मा हुन लागेको हो। करीब साता दिन बाँकी रहँदा सम्मेलनको सबै तयारी पूरा भएको छ।
पूर्ण शक्तिका साथ ९औं ब्रिक्स सम्मेलन भव्य बनाउन चीनले मे २२ देखि १०० दिने उल्टो गन्ती सुरूवात गरेको थियो। यतिखेर स्यामन सहर दुलहीजस्तै झिलीमिली हुन थालेका तस्वीरहरू चिनियाँ सञ्चारमाध्यममा छरपष्ट देख्न सकिन्छ।

राष्ट्रिय प्रतिष्ठाको विषय हुनुका साथै विकसित संरचनाले दीर्घकालीन फाइदा पुर्याउने भएकाले चिनियाँहरू र सम्बन्धित संयन्त्रहरू कुनै पनि सम्मेलन भव्य पार्न एकमुख भएर दिलोज्यानका साथ लागि पर्दछन्।
स्यामनवासीहरू यसपटकको सम्मेलन गर्व गर्न लायक बनाउनका पाँच निर्देशक सिद्धान्त फजुल खर्च नियन्त्रण, इभेन्टमार्फत् नागरिक तथा सहरी फाइदा, विश्वस्त शान्ति सुरक्षा, गुणस्तरीय प्रवन्ध सेवा र वृहत् जनसहभागितामा सामेल भएका छन्।
सम्मेलन अवधिमा शैक्षिक तथा औद्योगिक गतिविधिमा कुनै रोकावट नगरिकन केही ट्राफिक घनत्व कम पारिएको छ। उत्साहपूर्ण स्वयंसेवा देखिएको छ। २ हजार स्वयंसेवी चाहिएकोमा ३० हजारले आवेदन दिएका थिए।
स्यामनमा अध्ययनरत विदेशी विद्यार्थीहरू पनि यस स्वयंसेवामा खटिएका छन्। सार्वजनिक संकेत, स्याटलाइट ट्रान्समिसन, विशेष क्याफ्टेरिया सम्मेलनका लागि १५ हजार वर्गमिटर क्षेत्रफलमा मिडिया सेन्टर स्थापित गरिएको छ।

दक्षिण अफ्रिका बाहेक चार मुलुकबीच सन् २००६ मा राष्ट्रसंघको महासभाका दौरान ब्रिक गठबन्धन भएको थियो। सन् २००९ मा रूसको येकातेरिनवर्गमा पहिलो सम्मेलन भएयता यो वार्षिक सम्मेलनका रूपमा चलिरहेको छ।
दोश्रो सम्मेलन २०१० मा ब्राजिलको ब्रासिलिया, तेश्रो सम्मेलन सन् २०११ मा चीनको शान्यामा भएपछि दक्षिण अफ्रिका पनि सामेल भएर ब्रिकबाट यसको नाम ब्रिक्स रहन गयो। सन् २०१२ मा चौथो सम्मेलन भारतको नयाँ दिल्ली, पाँचौ दक्षिण अफ्रिकाको डर्बान, छैठौं पुनः ब्राजिलको फोर्टालेजामा सन् २०१४ मा भयो भने सातौं रूसको युफामा सन् २०१५ मा भयो। आठौं पुनश्च भारतको गोवामा २०१६ मा भएको हो भने नवौं सम्मेलन पुनः चीनले चियाको उद्गमभूमि फुच्येनमा गर्दैछ।

सन् २०१७ मा चीनले ब्रिक्सको अध्यक्षता लिएपछि यस वर्षको नारा समुज्ज्वल भविष्यका लागि सुदृढ साझेदारी भन्ने रहेको छ। स्थापनाको दशक नपुग्दै ब्रिक्सले राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेश मन्त्रीस्तरीय सम्मेलन, तथा अन्य सम्मेलनहरूका साथै अर्थतन्त्र, व्यापार, वाणिज्य, कृषि, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, सँस्कृति, थिंक ट्यांक, भगिनी शहर लगायत मुद्धामा निरन्तर वहस चलाउँदै र व्यवहारिक सहयोग फैलाउँदै गएको छ।
न्यू डेभलपमेन्ट बैंक, आकस्मिक संचिति व्यवस्था, व्यापार परिषद र थिंक ट्यांक परिषद स्थापना गरी सहयोग संयन्त्र विस्तार गरेर विश्वमा प्रभाव जमाउँदै गएको छ। यसबीचमा ब्रिक्स उदीयमान बजार तथा विकासोन्मुख मुलुक समेट्ने प्रभावकारी मञ्चको रूपमा स्थापित भएको छ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment