गजुरियल डोनाल्ड ट्रम्पः अंग्रेजी लवजमा नेपाली ‘गाली’




त्यो गहुँगोरो छाला हेर्दाहेर्दै चम्किन थाल्यो । त्यसमा थरीथरीका क्रिम लेपिए । आँखाको मुनी सेतो क्रिम लगाइयो । दाँत लगाइयो । खैरो कपाल लगाइयो । यसअघि नै सेतो सर्टमाथि रातो टाइ झुन्ड्याइएको थियो । अब ज्यानमा कोट भिरेपछि दुरुस्तै अंग्रेज ठाँटको देखिए । त्यो पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै ।

कमलादीस्थित प्रज्ञाभनवको ब्याकस्टेजबाट ड्रेसिङ रुममा मनोज गजुरेल पसेका थिए । निस्कदा, डोनाल्ड ट्रम्प । जादु भयो ।
अंग्रेजी लवजमा नेपाली गाली
मनोज गजुरेललाई डोनाल्ड ट्रम्प बन्न सजिलो थिएन । झन डोनाल्ड ट्रम्प बनेर हसाउँन पनि सजिलो थिएन । हँसाएर पनि हास्य-सन्र्दभलाई नेपाली परिवेशमा ढाल्न सजिलो थिएन । त्यसलाई रसिलो, चोटिलो, खिरिलो र हँसिलो बनाउन सजिलो थिएन ।
उनले अप्ठ्यारो काम गरे ।
उनले नगर्ने काम गरे । डोनाल्ड ट्रम्प बने । अंग्रेजी लवज टिपे । अनि, नेपाली राजनीतिको अध्याँरो पाटो खोतलिदिए । त्यो पनि रंगमञ्चको चहकिलो प्रकाशमा । सधैंको बर्ष झैं हास्य कलाकारहरुले गर्ने गाइजात्रे कार्यक्रमलाई यसपालि यहि एउटा प्रहसनले जागा राख्यो ।
बिहाइन्ड द सिन
अनलाइनखबरकर्मी प्रज्ञा भवन पुग्दा उनी ढल्कदो घाममा आफुलाई सेकाइरहेका थिए । तर, त्यसबेलासम्म उनी मनोज गजुरेल नै थिए, सग्लो ।



अलिकति गम्भिर, अलिकति रोमान्टिक ।
हामीले रेडिमेड प्रश्न सोध्यौं, ‘कसरी बन्नुभयो डोनाल्ड ट्रम्प ?’
उनले पनि यसरी फटाफट जवाफ फर्काए, मानौं त्यो प्रश्न झेल्नका लागि रिहर्सल नै गरेका छन् । यसो भने, ‘यसअघि लालबाबू पण्डित, प्रचण्ड, पूर्वराजा ज्ञानेन्द्र, मोदीदेखि धेरैको क्यारिकेचर गरेँ । अब, कसको गर्ने त भन्दा डोनाल्ड ट्रम्प नै पाएँ, जो मेरो शरीर सुहाउँदो थियो ।’
डोनाल्ड ट्रम्प बन्नका लागि उनले एक बर्षयता साधना गरेका रहेछन् । गाडीमा हुँइकिदा होस् वा वाथरुममा बस्दा, उनले डोनाल्ड ट्रम्पलाई खेलाइरहे । कहिले ट्रम्पको जस्तै ओंठ बनाए, कहिले हातका पोजिसन, कहिले आवाज त कहिले हिँडाई ।

ट्रम्पको कपाल कस्तो छ, दाँत कस्तो छ, टाइ कसरी झुन्ड्याउँछ, कसरी हिँड्छ, कसरी बोल्छ सबै कुरा उनले एक-एक ख्याल गरे । गाडीमा हिँड्दा त्यसको नक्कल गरे । अरुले गाडीमा हेर्दा ‘मनोज एक्लै बोल्दैछ, बहुलाए’ भने होलान् ।
‘एक्लो भयो कि ट्रम्पकै हाउभाउको अभ्यास गरिरहें’ गजुरेलले भने, ‘बोली, हाउभाउ सबै दुरुस्तै बनाउनु पर्‍यो नि त ।’
उनी २०१५ मा अमेरिका घुम्न गएका बेला साथीहरुले सुझाएका थिए, ‘अब तिमीले ट्रम्प बन्नुपर्छ ।’ त्यसबेला ट्रम्प राष्ट्रपति थिएनन् । यद्यपि अमेरिकाबासीका निम्ति उनी निकै चिनिएका र चर्चा गरिने पात्र थियो ।
ज्यान मिलेपछि
अप्ठ्यारो कहाँ हुन्छ भने, आफुले जसको क्यारिकेचर गर्न लागिएको हो, उसको ज्यानसँग आफ्नो ज्यान लगभग मिल्दो हुनुपर्ने । यदि त्यसो भएन भने, हास्यव्याङ्ग ‘हास्यस्पद’ हुन्छ रे । गजुरियल विश्लेषण यस्तै रहेछ ।
उनी धारप्रवाह बोल्दै गए, ‘अहिले विश्व साँघुरिएको छ, विश्व एउटा गाउँ जस्तो । डोनाल्ड ट्रम्पलाई नचिन्ने नेपाली छैन सायद । त्यसैले मेरो नजरमा ट्रम्प कुनै दुर्लभ र बिरानो पात्र जस्तो लागेन । हामीले चिनेजानेकै अनुहार लाग्यो । त्यही भएर यसपालि ट्रम्प बन्ने टुंगो गरें ।’




हामीले प्रश्नमा फड्को मार्‍यौं, ‘पात्र चयन गरिसकेपछि, त्यसलाई रसिलो र चोटिलो कसरी बनाइन्छ ?’
उनले जवाफ दिएनन् । बरु, आफैले अर्को प्रश्न घुसाए । त्यो भन्दा अगाडि एउटा प्रश्न राखौं ल’ भन्दै उनले आफैंले आफैंलाई सोधे, ‘क्यारिकेचर मिल्यो, मिलेन भनेर कसरी थाहा पाउनुहुन्छ ?’
प्रश्नको हल उनले यसरी गरे, ‘यसमा तीन वटा क्राइटएरिया हुन्छ । बडी अर्थात शरीर, बडील्याङ्वेज अर्थात हाउभाउ र आवाज । यो तीन वटा चिज मिल्यो भने त्यसलाई हन्र्डेड पर्सेन्ट मानिन्छ । तर, तीनमध्ये दुई वटा मिल्यो भने त्यसलाई सफल मानिन्छ । त्यसो हुँदाखेरी यो डोनाल्ड ट्रम्पको क्यारिकेचर सफल भन्दा अलिकति माथि छ ।’
तर, दुरुस्तै अंग्रेज भएर नेपाली भाषा बोल्दा, नेपाली परिवेशको कुरा गर्दा, नेपाली दर्शकलाई कन्भेन्स गर्दा बढी ‘नौटंकी’ हुने डर । ठीक यहि विन्दुमा पुगेपछि ‘कलामा अलिकति सिर्जना’ मिसाउनुपर्ने रहेछ ।
‘यदि पात्रको हुबहु नक्कल गरियो भने, त्यसमा हाँसो आउँदैन’ गजुरेलले सुनाए, ‘त्यसका लागि पात्रमा थोरै अतिरञ्जना थपिन्छ । तर, अतिरञ्जना भन्नसाथ अश्लिलता, अराजकता, त्यो पात्रको मानमर्दन हुने खाल कुरा भने होइन । शिष्ट शैलीमा हसाउँनु सक्नुपर्छ ।’
‘इन्फोटेनमेन्ट’ नभए जोकरजस्तो
कोहि व्यक्तिको दुरुस्तै नक्कल गर्नु क्यारिकेचर हो । तर, यस्तो नक्कल फिका हुन्छ यदि त्यसमा सामाजिक व्याङ्ग, अतिरञ्जना, गम्भिरता र समवेदना मिसाइएन भने । सोझै भन्दा क्यारिकेचर मात्र गर्दा जोकर जस्तो भइन्छ ।
अर्थात यसलाई हाँसउठ्दो त बनाउँन पर्छ नै, सन्देशमुलक पनि । त्यसैले यस्ता क्यारिकेचर ‘फन’ मात्र नभएर ‘इन्फोटेनमेन्ट’ हुनुपर्छ, इन्र्फमेसन विथ इन्टरटेनमेन्ट ।


जस्तो कि, ट्रम्पकै प्रहसनमा ऋषि धमला बनेका पात्रले सोध्छ, ‘छ नि, तपाईले डिभी चिट्ठा बन्द गरेर वीर नेपालीहरुमाथि अन्याय गर्नुभएको छ ?’
ट्रम्प जवाफ दिन्छन्, ‘ए डिभीको पछि लागेर टिभी लागेको मान्छे, अब नेपालीहरुले कुनै एम्बेसीको पछि नलाग्ने, आफ्नै गामबेसीको पछि लाग्ने ।’
उनी भन्दै जान्छन्, ‘अब अर्काको देशमा गएर रगत पसिना नबगाउने, आफ्नै देशमा बगाउने । अनि देशलाई स्वर्ग बनाउने । र, आफै स्वर्गवासी हुने ।’
ऋषि धमला बनेका पात्रले अर्को प्रश्न सोध्छ, ‘ट्रम्प जी, नेपालको लागि कुन राजनीतिक व्यवस्था ठीक होला ? सोसलिज्म, क्यापिटलिज्म, कम्युनिज्म ….’
‘नो, नो’ ट्रम्प बिचैमा रोक्छ, ‘नो सोसलिज्म, नो कम्युनिज्म, नो क्यापिटलिज्म, फर नेपाल डेभलोपमेन्ट वन्ली टुरिज्म, टुरिज्म, टुरिज्म ।’
बिहाइन्ड द सिनका केही तस्वीर








तस्वीरः मिलन अधिकारी/अनलाइनखबर
२०७४ भदौ ३ गते १९:५२ मा प्रकाशित (२०७४ भदौ ४ गते १९:१५मा अद्यावधिक गरिएको)



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment